१५ जेठ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्।
जेठ १५ भित्र संघीय बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार अर्थमन्त्रीले आज संसदका दुवै सदनसमक्ष आर्थिक सर्वेक्षण र राजस्वको आयव्यय अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट पेस गर्नेछन् ।
अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची छ। यसका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्नेछन्।
त्यसैगरी राष्ट्रिय सभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८१/८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक भएको छ।











