भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण ढंगले गर्न आयोगको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोलि काठमाडौंमा हुने संयुक्त जनआन्दोलन समिति (राजतन्त्र समर्थक) र नेकपा एमालेको प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अपिल गरेको छ। आयोगले आम नागरिकको हक र स्वतन्त्रताको संरक्षणका लागि सुरक्षामा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।

आयोगले आज काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र जिल्ला प्रहरी प्रमुखहरूसँग छलफल गरी सुरक्षा तयारीको अवस्थाबारे जानकारी लिएको थियो। छलफलमा सहभागी सुरक्षा अधिकारीहरूले प्रदर्शनको संवेदनशीलतालाई ध्यानमा राख्दै समन्वित रूपमा सुरक्षा रणनीति तयार गरिएको जानकारी दिएका छन्।

“प्रदर्शन शान्तिपूर्ण रहोस् भन्नेमा हामी पूर्ण सचेत छौं। दुई पक्षबीच प्रत्यक्ष जम्काभेट नहोस भनेर विशेष व्यवस्था गरिएको छ,” एक सुरक्षा अधिकारीले बताएका छन्।

आयोगले प्रदर्शनका क्रममा नागरिक अधिकार हनन नहोस् भन्ने कुरामा विशेष जोड दिँदै, सञ्चारगृह, संवेदनशील स्थल र सर्वसाधारणको सुरक्षामा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ।

उपत्यकाका सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिएको र सडक यातायात अवरुद्ध नहोस भन्ने दृष्टिकोणले आवागमन सहज बनाउन समेत रणनीति तय गरिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

आयोगले सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न र संवेदनशीलतालाई ध्यानमा राख्दै अभिव्यक्तिको स्वतन्त्रता तथा सार्वजनिक शान्ति दुवैको संरक्षण गर्न आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्