काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरी स्वास्थ्य सेवा विस्तारको दिशामा महत्वपूर्ण कदम अघि बढाएको छ। मे दिवसको अवसर पारेर आयोजित विशेष समारोहका बीच सोमबार नयाँ रक्त सञ्चार केन्द्रको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रूपमा रिबन काटेर ब्लड बैंकको समुद्घाटन गरे।
उक्त केन्द्र अस्पताल परिसरमै स्थापना गरिएको छ र यसले आकस्मिक स्वास्थ्य सेवामा एक भरपर्दो सहाराको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। ॐ हस्पिटलका अनुसार रक्त सञ्चार केन्द्रले अब अस्पतालमै रगत संकलन, परीक्षण तथा रक्त तत्वहरूको आपूर्ति जस्ता सेवाहरू सहज रूपमा उपलब्ध गराउनेछ।
यो केन्द्रले उपचार प्रक्रिया अझ छिटो, व्यवस्थित र आत्मनिर्भर बनाउन मद्दत गर्नेअस्पताल प्रशासनले जनाएको छ। समयानुसार सेवा विस्तार गर्दै ब्लड बैंकलाई स्तरोन्नत गर्ने योजना समेत अस्पतालले अघि सारेको छ।
समारोहमा हस्पिटलका सञ्चालकहरू, सेयरधनी, वरिष्ठ चिकित्सक, कर्मचारी युनियनका प्रतिनिधिहरू र अन्य कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।











