भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४ः१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन्।

सन् २०२६ जुन ३० मा भारतीय प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएको छ।

सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम सोमबार तय भएको हो।

नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको देशले मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार भारतीय प्रधान सेनापति सेठलाई पनि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्न लागिएको हो।

प्रधान सेनापति सेठले सोमबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। भ्रमणका क्रममा उनले नेपाली सेनासँग सम्बन्धित विभिन्न विषयमा उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्