काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक निर्वाचनमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्ति निरुत्साहित गर्ने र उम्मेदवार छनोटमा ‘प्राइमरी इलेक्सन’ लागू गर्ने प्रस्ताव अघि सारिएको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा साङ्गठनिक समितिका संयोजक उमाकान्त चौधरीले पार्टी पुनर्संरचना तथा विधान परिमार्जनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्नुपर्ने बताएका हुन्।
प्रस्तावअनुसार पार्टीका सबै तहका समितिमा कम्तीमा एक तिहाइ महिला र एक चौथाइ ३० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था गर्नुपर्नेछ। कोटा पूरा नभए सम्बन्धित समिति वा प्रतिनिधिको सूचीले वैधता नपाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, आन्तरिक निर्वाचनमा संस्थापन र इतर पक्षका प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिले कार्यकर्ताबीच विभाजन र मनमुटाव बढाएको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने उल्लेख छ।
महाधिवेशन प्रतिनिधि चयनमा धेरै खर्च हुने भएकाले आर्थिक रूपमा कमजोर तर इमानदार कार्यकर्ता पाखा परेको निष्कर्ष निकाल्दै निर्वाचन प्रणाली सुधार गर्नुपर्ने प्रस्ताव गरिएको छ। वडा सभापतिका लागि पाँच वर्ष, अन्य तहका सभापतिका लागि १० वर्ष र केन्द्रीय सभापतिको उम्मेदवार बन्न १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
यसैगरी, पार्टीको टिकट वितरण प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव छ। स्थानीय, प्रदेश र संघीय निर्वाचनका उम्मेदवार छनोटमा ५० प्रतिशत प्राइमरी इलेक्सन र ५० प्रतिशत आन्तरिक मूल्याङ्कन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यबीच गोप्य मतदानबाट उम्मेदवार छनोट गरी त्यसको आधारमा केन्द्रीय संसदीय बोर्डले अन्तिम अनुमोदन गर्ने प्रस्तावमा उल्लेख छ।
प्रस्तावमा टिकट वितरणलाई पारदर्शी र सहभागितामूलक बनाएर कार्यकर्ताको अपनत्व बढाउनुपर्ने तथा पार्टीलाई थप युवा, समावेशी र विधिसम्मत बनाउनुपर्नेमा जोड दिइएको छ।











