३१ जेठ, काठमाडौं । जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् ।
विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मिडियाहरुले लेखेका छन् ।
जापानको अध्यागमन सेवा एजेन्सीले २७ अक्टोबरदेखि लागु हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाका लागि पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको छ । नयाँ नियमअनुसार व्यवसाय सञ्चालन गर्न कम्तीमा तीन करोड येन (करिब १९० हजार अमेरिकी डलर) पूँजी आवश्यक पर्ने व्यवस्था गरिएको छ । यसअघि पाँच मिलियन येन भए पुग्थ्यो ।
यस परिवर्तनले विशेषगरी विदेशी समुदायले सञ्चालन गरेका साना व्यवसायहरूलाई प्रत्यक्ष असर परेको छ ।
टोकियोको नेरिमा क्षेत्रमा हङकङ शैलीको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ४७ वर्षीया चान का यीले नयाँ नियम पूरा गर्न नसकेपछि आफ्नो रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको जापानको एक अनलाइन द असाही शिम्बुनले लेखेको छ ।
कोभिड–१९ महामारी पार गरेर हालै मात्र नाफामा पुगेको उनको रेस्टुरेन्ट ‘सान माई सान नेरिमा’ मे २० मा अन्तिम पटक सञ्चालन हुने छ । ‘रेस्टुरेन्ट सजिलै छोड्न चाहेको थिइनँ, तर विकल्प नै रहेन,’ उनले भनेकी छन् ।
उनले जापानी टेलिभिजन नाटक हेर्दै हुर्किएको र जापानमा बस्ने सपना पूरा गर्न लामो समय बचत गरेर सन् २०२० मा रेस्टुरेन्ट खोलेकी थिइन् । व्यवसाय राम्रो चल्न थाले पनि तीन करोड येन पूँजी पुर्याउने सम्भावना नभएपछि अन्तत: बन्द गर्ने निर्णयमा पुगेको उनले बताइन् ।
नेपाली र भारतीय व्यवसायी पनि प्रभावित
जापानको राजधानी टोक्योको एडोगावा क्षेत्रमा जापानकै ठूलो भारतीय समुदाय बसोबास गर्छ । त्यसैले निशी–कासाइ क्षेत्रलाई ‘लिटिल इन्डिया’ भनेर पनि चिनिन्छ । यो क्षेत्रमा नेपालीहरुले पनि सन्चालन गरेका रेस्टुरेन्टहरू छन् । त्यहाँ व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार अधिकांश साना रेस्टुरेन्ट सञ्चालकले तीन करोड येन जुटाउन सक्ने अवस्था छैन ।
जापानको एडोगावा क्षेत्र
‘हामीले मेहनत गरेर व्यवसाय चलाइरहेका छौं। तर सरकारले हाम्रो प्रयास हेरेको छैन,’ ती व्यवसायले भनेका छन्, ‘यदि विदेशीहरूले आफ्नो देशको खाना नै खान पाएनन् भने उनीहरू जापान आउन छोड्छन् । त्यसको असर अन्तत: जापानलाई नै पर्छ ।’ उनका अनुसार धेरै रेस्टुरेन्ट अब नवीकरण नहुने डरमा छन् ।
एडोगावा इन्डियन एसोसिएसनका अध्यक्ष जगमोहन एस चन्द्रानीले अक्टोबरयता भारतीय र नेपाली व्यवसायीहरूबाट लगातार चिन्ता व्यक्त भइरहेको बताउँछन् । उनका अनुसार शाकाहारी तथा धार्मिक आहारमा निर्भर भारतीय र नेपाली समुदायका लागि स्थानीय व्यवसाय अत्यन्त आवश्यक छन् । ‘यी व्यवसाय हराए समुदाय नै कमजोर हुन्छ,’ उनले भने ।
‘इमानदार व्यवसायी विस्थापित हुने खतरा’
टोकियोस्थित प्रशासनिक कानुन विशेषज्ञ काजुहिको यामादाले तीन करोड येनको मापदण्ड ‘अत्यन्त कठोर’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार जापानी नागरिककै लागि पनि यति ठूलो लगानी सजिलो छैन ।
उनले नयाँ नियम लागू भएपछि विदेशी उद्यमीबाट नयाँ भिसा आवेदनसम्बन्धी परामर्श लगभग बन्द भएको बताए । ‘यति धेरै पूँजी भएका व्यक्तिले जापानभन्दा अमेरिका वा युरोप रोज्न सक्छन्,’ उनले भने ।
नक्कली कम्पनी खोल्नेहरू प्राय: धनी हुने भएकाले उनीहरूले नयाँ नियम सजिलै छल्न सक्छन् । तर साना व्यवसाय चलाएर जापानी समाजमा योगदान दिइरहेका विदेशीहरू भने बाहिरिन बाध्य हुनसक्ने अर्का एक व्यवसायी विशेषज्ञ अत्सुशी कोन्डोले जापानी अनलाइन द असाही शिम्बुनसँग बताएका छन् ।
‘यो व्यवस्थाले मेहनती र इमानदार मानिसहरू विस्थापित हुनेछन्,’ उनले भनेकाछन्, ‘नियम यस्तो हुनुपर्छ जसले गलत प्रयोग रोक्दै वास्तविक व्यवसायीलाई टिक्न मद्दत गरोस् ।’










