काठमाडौं, २९ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले मातहतका कमिटीलाई ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिइएको हो। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित उक्त निर्देशनमा निर्वाचन परिचालनका क्रममा भएका समग्र गतिविधिहरूको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन भनिएको छ।
निर्वाचनको परिणामबारे चर्चा गर्दै नेकपाले असामान्य अवस्था र विभिन्न षड्यन्त्रका बीच सम्पन्न यस निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याएको निष्कर्ष निकालेको छ। मतदाताले दिएको अभिमत बमोजिम अब संसद्मा पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने नेतृत्वले स्पष्ट पारेको छ।
निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यक्षतर्फ आठ जना र समानुपातिकतर्फ नौ सिट प्राप्त भएको जानकारी दिँदै नेतृत्वले सम्पूर्ण विजयी उम्मेदवार, खट्ने नेता, कार्यकर्ता तथा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ।











