काठमाडौं । हिमनदीको तल्लो भाग भत्किएर बुधबार नेपाल र चीनको तिब्बत स्वायत्त क्षेत्रका हिमाली सीमा क्षेत्रमा ठूलो बाढी आएको छ।
बाढीका कारण हालसम्म ४६९ जनाको मृत्यु भएको र ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको बताइएको छ। मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
हिमनदी भत्किने तथा हिमताल फुट्ने घटनाले यसअघि पनि विश्वका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति गराएका छन्। इतिहासका केही घातक हिमनदीजन्य विपद् यस्ता छन् :
सन् १९४१ — हुआराज, पेरु
उत्तरी पेरुको उच्च एन्डिज क्षेत्रमा हिमताल फुटेर आएको बाढीले हुआराज सहरको करिब एकतिहाइ भाग ध्वस्त पारेको थियो।
उक्त घटनामा अनुमानित ५ हजार मानिसको मृत्यु भएको थियो। यो इतिहासकै सबैभन्दा घातक हिमताल विस्फोटजन्य बाढीमध्ये एक मानिन्छ।
सन् १९६२ — रान्राहिर्का, पेरु
पेरुको सबैभन्दा अग्लो हिमाल माउन्ट हुआस्कारानबाट ठूलो हिमखण्ड खसेपछि करिब १ करोड घनमिटर चट्टान, बरफ र हिउँ जम्मा सात मिनेटमै पहाडबाट तल खसेको थियो।
यसले रान्राहिर्का गाउँसहित आसपासका बस्तीलाई करिब १२ मिटर गहिरो हिलो र भग्नावशेषले पुरेको थियो। घटनामा अनुमानित ४ हजार मानिसको मृत्यु भएको थियो।
सन् १९७० — युङ्गे, पेरु
७.९ म्याग्निच्युडको भूकम्पले माउन्ट हुआस्कारानको उत्तरी भाग अस्थिर बनाउँदा इतिहासकै सबैभन्दा घातक हिमनदीजन्य विपद्मध्ये एक निम्तिएको थियो।
हिमनदीको बरफ र चट्टानको विशाल भाग प्रतिघण्टा ३३५ किलोमिटर (२०८ माइल)सम्मको गतिमा युङ्गे र रान्राहिर्कातर्फ खसेको थियो।
यसले दुवै क्षेत्रलाई हिलो र भग्नावशेषमा पुरेको थियो। हिमपहिरोमा मात्रै अनुमानित २५ हजार मानिसको मृत्यु भएको थियो। भूकम्पबाट मृत्यु हुने कुल संख्या भने ५० हजारभन्दा बढी थियो।
सन् १९८१ — चिरेन्मा को, तिब्बत
चीन–नेपाल सीमाबाट करिब १४ किलोमिटर टाढा रहेको चिरेन्मा को हिमतालमा माथिबाट झुन्डिएको हिमनदीको ठूलो भाग खसेको थियो।
त्यसबाट उठेको विशाल छालले हिमतालको मोरेन बाँध पार गरेको थियो। करिब २ करोड घनमिटर पानी, बरफ र भग्नावशेष नेपालतर्फ तीव्र गतिमा बगेको थियो।
यस घटनामा नेपालमा अनुमानित २०० जनाको मृत्यु भएको थियो। पुल, सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।
सन् २०२१ — चमोली, भारत
भारतको उत्तराखण्डस्थित नन्दादेवी नजिकैको रोन्ती चुचुरोबाट ठूलो हिमखण्ड खसेपछि चट्टान, धुलो र बरफको विनाशकारी भेल उपत्यकातर्फ बगेको थियो।
यसबाट उत्तराखण्डमा ठूलो आकस्मिक बाढी आएको थियो। घटनामा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। बस्तीहरू बग्नुका साथै दुईवटा जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका थिए।
सन् २०२६ — नेपाल–तिब्बत सीमा
नेपाल र तिब्बतको हिमाली सीमा क्षेत्रमा हिमनदीको तल्लो भाग भत्किएर बरफ र चट्टानको ठूलो पहिरो आएको बताइएको छ।
पहिरो तिब्बततर्फबाट केरुङ बन्दरगाह क्षेत्रमा पुगेपछि नेपालतर्फ समेत प्रवेश गरेको थियो। त्यसपछि आएको तीव्र बाढीले सडक, विद्युत् तथा जलविद्युत् संरचनामा क्षति पुर्याउनुका साथै विभिन्न बस्ती प्रभावित भएका छन्।
घटनामा ठूलो संख्यामा मानिस बेपत्ता रहेको बताइएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।










