तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सबैलाई सचेत रहन आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन सर्कुलर जारी गरिएको छ।

प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’

चिनियाँ क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको हो।

छोचेन खोला र पुरेपू त्साङ्पो नदी त्रिशूली नदीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।

सम्भावित बाढी तथा आकस्मिक बहावको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्