काठमाडौँ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले रसुवामा गएको बाढीका कारण विपद्मा परेका तथा घाइते नागरिकको उद्धार र उपचारका लागि आवश्यक सहयोग परिचालन गरेको छ।
नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि दुई वटा एम्बुलेन्स र १० जना नगर प्रहरीसहितको गाडी परिचालन गरेको जनाएको छ। बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन तथा घाइतेलाई तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन ती सवारीसाधन तथा जनशक्ति परिचालन गरिएको हो।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालका अनुसार बाढी प्रभावित र घाइते नागरिकको उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालसँग समेत समन्वय गरिएको छ। उनका अनुसार नेपाल मेडिकल कलेज, शंखरापुर हस्पिटल र नेपाल अर्थोपेडिक अस्पतालमा १५ जना घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ।
बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै सर्वसाधारण जोखिममा परेका छन्। विपद्को समयमा उद्धार र उपचारलाई प्राथमिकता दिँदै स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला पक्ष परिचालन भइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले पनि आफ्नो तर्फबाट जनशक्ति र स्वास्थ्य सहयोग उपलब्ध गराएको हो।
नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा खटिएका आफ्नो टोलीमार्फत आवश्यक उद्धार तथा सहयोगको काम अघि बढाउने जनाएको छ। साथै, घाइते तथा विपद्मा परेका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित अस्पतालसँग निरन्तर समन्वय गरिने जनाइएको छ।
मेयर रिसालले विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन्। बाढीका कारण थप जोखिम उत्पन्न हुनसक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।










