११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा उपचारमा सहयोग पुर्याउन गोकर्णेश्वर नगरपालिकाले दुई वटा एम्बुलेन्ससहित नगर प्रहरीको टोली परिचालन गरेको छ।
नगरपालिकाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने उद्देश्यले १० जना नगर प्रहरीसहितको टोली परिचालन गरिएको हो। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा घाइतेलाई शीघ्र स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स र जनशक्ति परिचालन गरिएको नगरपालिकाले जनाएको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालका अनुसार बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालसँग समेत समन्वय गरिएको छ। उनका अनुसार नेपाल मेडिकल कलेज, शंखरापुर हस्पिटल र नेपाल अर्थोपेडिक अस्पतालमा १५ जना घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै स्थानीय नागरिक जोखिममा परेका छन्। विपद्पछि उद्धार, उपचार तथा राहतका कामलाई तीव्रता दिइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले पनि आफ्नो स्रोतसाधन र जनशक्ति प्रभावित क्षेत्रमा पठाएको हो।
नगरपालिकाले प्रभावित क्षेत्रमा खटिएको टोलीमार्फत आवश्यकताअनुसार उद्धार तथा सहयोगका काम अघि बढाउने जनाएको छ। घाइते तथा बाढी प्रभावित नागरिकलाई थप स्वास्थ्य सेवा आवश्यक परे सम्बन्धित अस्पतालसँग निरन्तर समन्वय गरिने नगरपालिकाले जनाएको छ।
मेयर रिसालले विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन्।
बाढीपछि थप जोखिमको सम्भावना रहेकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन तथा जोखिम बढे सुरक्षित स्थानमा जान स्थानीय तहले आग्रह गरेको छ।










