राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल–चीन सीमा बाढीका २९ घाइते, १३ जना डिस्चार्ज (नामसहित)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भएका २९ जनालाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।

पछिल्लो विवरणअनुसार बिहीबार साँझसम्म बाढीमा घाइते भएका २९ जना उपचारका लागि ट्रमा सेन्टरमा भर्ना भएका थिए। तीमध्ये १३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ।

शाखा अधिकृत शिवकुमार निरौलाका अनुसार हाल ट्रमा सेन्टरमा १३ जना घाइते उपचाररत छन्। उपचाररतमध्ये एक जनाको आईसीयू र एक जनाको एचडीयूमा उपचार भइरहेको छ। बाँकी घाइतेलाई सामान्य वार्डमा राखेर उपचार तथा निगरानी भइरहेको सेन्टरले जनाएको छ।

ट्रमा सेन्टरका अनुसार घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। केहीको टाउको तथा शरीरभरि चोट लागेको छ भने केहीको अवस्था स्थिर रहेको छ। घाइतेमध्ये एक महिलाको हातमा चोट लागेकाले शल्यक्रिया गरिएको छ।

उपचारका लागि ल्याइएका घाइतेहरू ८ वर्षदेखि ६८ वर्षसम्मका विभिन्न उमेर समूहका छन्। उनीहरू रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका स्थानीय तथा बाढी प्रभावित क्षेत्रका व्यक्ति रहेको सेन्टरले जनाएको छ।

निरौलाका अनुसार घाइतेहरूको चोटको प्रकृति र स्वास्थ्य अवस्थाका आधारमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका बिरामीलाई आईसीयू तथा एचडीयूमा राखेर विशेष निगरानी गरिएको छ।

ट्रमा सेन्टरले अस्पताल परिसरमा अनावश्यक भिड नगर्न तथा घाइते र बिरामीहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अनुमति बिना अन्तर्वार्ता तथा भिडियो फुटेज नलिन अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्