स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज पनि जरिवाना रकम बुझाउन सक्ने भएका छन् ।
प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारलाई जरिवाना बुझाउन आजसम्मको समय दिइएको थियो ।
आज अन्तिम दिन सार्वजनिक विदा परेपछि जरिवाना बुझाउन चाहनेलाई लक्षित गर्दै कार्यालय खुलाइएको हो । उम्मेदवारले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सक्ने आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूलाई प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।