काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो ।
उहाँले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासकाे आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गर्नुभयाे ।
यस्तै प्रधानमन्त्रीले सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको समेत बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्न खोजिएको दाबी गर्नुभयो ।
उहाँले राम्रा कामलाई दबाउने र हुँदै नभएका विषयलाई प्रचार गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयाे ।
प्रचण्डले एनसेलकाे शेयर खरिद–बिक्री प्रकरणलाई लिएर गलत व्याख्या र प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाउनुभएको छ । नागरिकलाई तथ्यगत र सही सूचना दिनुपर्ने उहाँको भनाइ छ ।













