समाचार लेखेकै आधारमा पत्रकारलाई पक्रनु लोकतन्त्रका लागि राम्रो संकेत होइन :  डा. शेखर कोइराला

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले समाचार लेखेकै आधारमा जनआस्थाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।

फेसबुकमा एक पोस्ट सेयर गर्दै नेता कोइरालाले भनेका छन्, ‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन। पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत छ।’

उनले श्रेष्ठको अविलम्ब रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न सरकारसँग आग्रहसमेत गरेका छन्।

प्रहरीले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनी विरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ। सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।

साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। उक्त समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्