बडादशैँका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवम् सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्