काठमाडौं, असोज १२
महानगरीय प्रहरीले उपत्यकामा चाडपर्वको मौका छोपी यात्रुलाई ठगी गर्ने ३३ जनालाई पक्राउ गरेको छ ।
यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिने लगायतका ठगी गर्नेलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त पठाएको जानकारी दिएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता राजेन्द्र भट्टले जानकारी दिनुभयो ।
कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको एकिकृत सुरक्षा कार्ययोजनाअनुसार १ हजार ४ सय ६८ जनशक्ति परिचालन गरेको छ । यस्तै कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ । लामो दूरीको यात्रालाई लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् ।
यस्तै काठमाडौं उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा समेत कडाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बीमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उहाले बताउनुभयो ।