काठमाडौं, २९ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता, ठगि र अपराधविरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहिनता, ठगि अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसावले काम गरिरहेको बताउनुभयो । उहाँले मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दाबी गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले पुरानै गतिमा काम गरेर नपुग्ने निस्कर्ष सरकार रहेको बताउनुभयो । उहाँले मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भिर भएर काम गरिरहेको बताउनुभयो ।











