काठमाडौं, १८ असार । पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको हो ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागेको हो ।
एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाएको र केही दिनभित्र निर्णय हुनेछ ।
महाशाखाका अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिका १५ लाखको हाराहारीमा छन् । अहिले खरिद गर्न लागिएको २० हजार भाइल खोप १० हजार बालिकालाई दिन पुग्छ ।
खोप केही मात्रामा खेर जानसक्ने भएकाले ९ हजार हाराहारी बालिकालाई खोप दिन सकिने परिवार कल्याण महाशाखाको अनुमान छ ।









