काठमाडौं, बैशाख १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केहि व्यक्तिले आफु सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै कार्यकर्ताबाट भएको र उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरेको बताउनुभएको हो ।
उहाले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असमाजिक तत्वहरुको मनोबल उच्च देखिएको उल्लेख गर्नुभयो । कार्यक्रममा ओलीले महाकाली सन्धिलाई एमालेले सच्चाएको भन्दै नेपालको हितमा रहेको बताउनुभयो । उहाले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरुले मात्रै मान्ने टिप्पणी गर्नुभयो ।
उहाले धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सवै सचेत रहनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।











