केपिलासगढीका बिरामीलाई केएमसीमा ५० प्रतिशत छुट दिने सम्झौता

खबर बुक
  • ख-
  • ख+

खोटाङ, ५ बैसाख ।खोटाङको केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा उपचार गराउँदा छुट पाउने भएका छन् ।

केपिलासगढी गाउँपालिकाको आग्रहमा काठमाण्डौ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो ।

काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा केपिलासगढी गाउँपालिकाले बाक्सिलामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिर उद्घाटनका क्रममा अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नाायणप्रसाद दाहाल तथा गाउँपालिका अध्यक्ष समिर राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुट लगायतका सात बुँदे सम्झौता भएको हो ।

गाउँपालिका र केएमसी अस्पतालबीचमा बहिरङ विभागमा जाँच गराउँदा २५ प्रतिशत र भर्ना भएर उपचार गराउने बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराउने सहमती भएको छ । गाउँपालिकाको सिफारिसमा केएमसीमा  उपचारका लागि पुग्ने बिरामीलाई एमआरआई, सीटी स्क्यान, शल्यक्रिया सहितमा छुटको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

अति विपन्न परिवारका बिरामी उपचारका लागि केएमसी पुगेको अवस्थामा दुबै पक्षले आपसी छलफल गरी शतप्रतिशतसम्म छुटको व्यवस्था मिलाउने सम्झौता–पत्रमा उल्लेख छ ।

 

गाउँपालिका र केएमसी अस्पतालबीचको सम्झौता आगामी २०८० चैत मसान्तसम्म कायम रहने छ । गाउँपालिकाको सिफारिसमा उपचारमा पुग्ने बिरामीको उपचारमा अस्पतालले विशेष ध्यान दिइ उपचार सेवा प्रदान गर्ने तर औषधि, औषधिजन्य सामग्री, इम्प्लान्ट, स्टेण्ट, पेसमेकर जस्ता सामानमा छुट नहुने सम्झौता गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्