काठमाडौं, ४ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभयो ।
उहाँले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री महतले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताउनुभयो ।
आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तदम्य नहुँदा समस्या सिर्जना भएको उहाँको भनाइ थियो । ‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्छ’, अर्थमन्त्रीको भनाइ छ ।
निजी क्षेत्रले पनि आफ्नो वास्तविकता बताउनुपर्ने भन्दै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताउनुभयो ।











