काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएकाे छ ।
सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभयाे ।
बैठकमा प्रधानमन्त्रीले नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको बताउनुभयाे ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गर्नुभयाे ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघ, साना तथा घरेलु उद्योग महासंघ लगायत निजी क्षेत्रसम्बद्ध संघसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वहरूको उपस्थिति थियो ।











