माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल 

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ ।

बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो ।

यही ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत पनि राखेका थिए । उनी महासचिव पदको आकांक्षी थिए ।

पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोखेका हुन् । अखिल क्रान्तिकारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको रुपमा उपस्थित भएको बताए । अर्थात् उनले उपमहासचिव पद अस्वीकारको अर्थ लाग्ने गरी अभिव्यक्ति दिए ।

आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उनले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गरे् ।
यसपछि  कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई राजनीतिक रुपमा हुर्काउन आफूले मुख्य भूमिका खेलेको जवाफ दिए ।

पार्टीभित्र आफूले आफ्नो उत्तराधिकारी खोजेको र तयार होऊन् भन्ने चाहेको शर्मालाई लक्षित गर्दै जवाफ दिएका प्रचण्डले अब आउने उत्तराधिकारीले पनि पार्टीलाई एकताबद्ध गरेर लैजाउनुपर्नेमा जोड दिए ।
न्युज कारखाना

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्