धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार मङ्गलबार दिउँसो सडकको ठूलो भाग भासिएर तल त्रिशुली नदीतर्फ खसेको हो।
‘सडकको अवस्था नागढुङ्गा–नौबिसे खण्डको कृष्णभीरको जस्तै जोखिमपूर्ण बनेको छ,’ एसपी खड्काले नेपाल प्रेससँग भने, मुख्य सडक क्षेत्र पूर्ण रूपमा भासिएको छ।
मोटरसाइकल समेत आवतजावत गर्न नमिल्ने गरी बाटो खस्ने क्रम जारी रहेकाले सुरक्षाका दृष्टिले राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ।
उनले कृष्ण भीरको जस्तै प्रकृतिले सडक भासिएको बताए।
घटना लगत्तै प्रहरी टोली खटिएर जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि राजमार्ग भएर गुड्ने सवारी साधनहरू बाटोमै रोकिएका छन्।










