काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन आउँदो आइतबार, असोज २५ गतेदेखि ६ स्थानबाट विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेरको व्यवस्था गरिने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज ३१ गतेसम्म हरेक दिन बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म उक्त सुविधा उपलब्ध हुनेछ ।
संघले तोकेका छवटा केन्द्रमा विभिन्न ब्रान्डका ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ ।
कहाँ–कहाँ पाइन्छ ग्यास ?
१. सिफलचौर, काठमाडौं: ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास ।
२. पेप्सीकोला, काठमाडौं: सगर ग्यास ।
३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि: नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास ।
४. सुकेधारा, काठमाडौं: बाबा र श्री ग्यास ।
५. कलंकी, काठमाडौं: साइबाबा र श्रीकृष्ण ग्यास ।
६. हरिसिद्धि, ललितपुर: श्रीराम ग्यास ।
उपभोक्ताले आफ्नो सहजताअनुसार तोकिएका बिक्री केन्द्रमा पुगेर वा फोनमार्फत सम्पर्क गरेर ग्यासबारे जानकारी लिन सक्नेछन् ।
संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको छ । गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ ।
उपत्यकामा ग्यासको आपूर्ति सहज भए पनि नजिकिँदो चाडपर्वका बेला केही उपभोक्ताले ग्यास पाउन कठिनाइ भएको र फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न नपाउँदा समस्या भएको गुनासो गरेपछि विशेष व्यवस्था गरिएको संघका अध्यक्ष दिवान चन्दले बताए ।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गर्न लागिएको हो ।
संघले तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिने स्पष्ट पारेको छ । तोकिएका छवटा केन्द्रबाहेक अन्य स्थानमा यस्तो सुविधा उपलब्ध नहुने पनि संघले जनाएको छ ।










