पोखरा । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी रहेका छन् । अर्का मृतक अन्दाजी १५ वर्षीया किशोरीको परिचय खुल्न बाँकी छ ।
शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किने क्रममा ओख्लेभीर भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा परेका कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । बाँकी १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् ।











