काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। अन्य पदाधिकारीहरूको मतगणना भने बाँकी रहेको छ।
सभापतिबाहेकका पदाधिकारीहरूको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ। ती पदाधिकारीहरूको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेदवारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोदेखि मतगणना सुरु गर्नेछ।
कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीहरूको मतगणना सुरु हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार मतदान भएको थियो। त्यसपछि काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनामा सभापतिमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। कुल ५४ मत बदर भएको थियो।
यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए।










