रसुवा बाढीमा जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना फसेको सेनाको अनुमान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले यस्तो जानकारी दिएका हुन् ।

‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौँ ।’

उनले जलविद्युत् आयोजनामा कार्यरत अन्य व्यक्तिहरू सुरुङको बाहिरी क्षेत्रमा परेको हुनसक्ने अनुमान पनि रहेको बताए ।

सहायक रथी थापाले जलविद्युत् आयोजनाका सुरुङमा भएको क्षतिको प्रारम्भिक आकलन गर्दा बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए ।

उनका अनुसार सुरुङभित्र फसेका व्यक्तिको यकिन अवस्थाबारे जानकारी लिन तथा खोजी तथा उद्धार कार्यलाई पूर्णता दिन सबै सुरुङको ‘ब्रेकथ्रु’ आवश्यक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्