शक्तिराष्ट्रको कूटनीतिक रोजाइमा रवि लामिछाने, उच्च तहबाटै बढ्यो संवाद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देखिएका छन् ।

प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कूटनीतिक कुराकानीमा पार्टी सभापति लामिछाने बढी सक्रिय देखिएका हुन् ।

सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सभापति लामिछानेसँग टेलिफोन वार्ता गर्दै रसुवा बाढीले पुर्‍याएको ठूलो क्षतिप्रति दुःख व्यक्त गरे । रास्वपा स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीले नेपाललाई अमेरिकी सहयोग प्राथमिकताका साथ निरन्तर रहने आश्वासनसमेत दिएका छन् ।

लामिछानेले अमेरिकी सरकारलाई नेपालको क्षति तथा यसले निम्त्याएको कठिन परिस्थितिप्रति दुःख व्यक्त गरेकामा आभार व्यक्त गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २० गते लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरी भेटवार्ता गरेका थिए । लामिछानेले पार्टीको तर्फबाट प्रतिनिधिमण्डलसहित भारतीय प्रधानमन्त्री मोदी तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग संवाद गरेका थिए ।

लामिछानेको भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो । प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अन्य कूटनीतिज्ञहरूले एक्लाएक्लै भेट नपाएको सन्दर्भमा लामिछानेसँग भने उच्च तहमा संवाद भएको थियो । पछि भारतीय तथा चिनियाँ राजदूतहरूले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस्तै, चिनियाँ पक्षले पनि लामिछानेलाई अगस्टमा चीन भ्रमणका लागि निमन्त्रणा गरेको थियो । लामिछानेले आन्तरिक कारण देखाउँदै भ्रमणलाई सेप्टेम्बरको दोस्रो साताका लागि सारेका थिए । भ्रमणको अनौपचारिक कार्यतालिका बने पनि औपचारिकता पाउन बाँकी थियो । त्यसैबीच भोटेकोशीको बाढी तथा अन्य कारणले उक्त भ्रमण हाल स्थगित भएको छ ।

रास्वपा स्रोतका अनुसार उपयुक्त समयमा, सम्भवतः छिट्टै, लामिछानेको चीन भ्रमण हुने सम्भावना छ ।

‘चिनियाँ राष्ट्रपतिज्यूसँगको भेटवार्ताको सुनिश्चितता लगायतका विषय तथा केही अर्थपूर्ण एजेन्डाको तयारी आदिका कारण भ्रमण रोकिएको हो । तर सभापतिज्यू बेइजिङ जाने विषयमा सकारात्मक नै हुनुहुन्छ,’ रास्वपा स्रोतले भन्यो ।

अमेरिकी विदेशमन्त्रीले सरकारको उच्च तहमा निर्णायक अर्थ राख्नेगरी संवाद गर्न चाहेकाले लामिछानेसँग टेलिफोन वार्ता सम्भव भएको उच्च स्रोतको भनाइ छ ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको बैठकका लागि न्युयोर्क जाने तयारीमा छन् । उनले त्यहाँ विश्व नेताहरूसँग नेपालको धारणा राख्ने तथा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ । तर, अहिलेसम्म त्यसको सम्पूर्ण कार्यसूची सार्वजनिक भइसकेको छैन ।

अमेरिकास्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले महासभासम्बन्धी तयारी गरिरहेका छन् ।

कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा रास्वपा सभापति लामिछानेले पाएको महत्वलाई शक्तिराष्ट्रहरूले स्वाभाविक रूपमा सम्बन्ध विस्तार गर्ने शैलीसँग जोडेर विश्लेषण गर्छन् । लामिछाने सत्तारुढ दलका शक्तिशाली सभापति हुनुका साथै प्रधानमन्त्री शाहको सहज पहुँचमा नरहने शैली पनि यसको एउटा कारण भएको उनको भनाइ छ ।

‘अमेरिकामात्रै होइन, अरू मुख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढी सम्पर्क, पहुँच र शक्ति कतातिर छ भन्ने आधारमा कुराकानी गर्ने गरेको देखिन्छ । सभापति लामिछानेसँग भएका भेट र फोन कुराकानीलाई त्यसकै परिणामका रूपमा लिनुपर्ने हुन्छ,’ पत्रकार शर्माले भने ।

उनले प्रधानमन्त्री शाह सहजै उपलब्ध नहुने र छिट्टै संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा रहेकाले पनि अहिले लामिछानेसँग अमेरिकी पक्षको संवादलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

यसअघि फागुनमा भएको निर्वाचनमा रास्वपाको ठूलो विजयलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बालेनसँगै लामिछानेसँग पनि कुराकानी गरेका थिए । अन्य कतिपय देशहरूले समेत रास्वपा सभापति लामिछानेलाई महत्व दिँदै संवाद अघि बढाइरहेको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्