काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वदेश फर्किने तय भएको छ ।
प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गर्न छोटो अवधिका लागि मात्रै न्यूयोर्क जान लागेका हुन् । भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले यसपटक जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो । तर भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाह आफैंले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब १० जनासम्म सदस्य रहने बताइएको छ ।











