रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ भदौ । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारकार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्याइएको छ । रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रसम्म पुगेको छ । लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने कार्य जारी छ ।

मन्त्रालयका अनुसार मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ । बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ । रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने स्थानका थप एक हजार २६८ घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्