काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै संस्थाले प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
उक्त रकम बहुचरणमा कार्यान्वयन हुने राहत तथा पुनर्स्थापना कार्यक्रममा खर्च गरिने जनाइएको छ। कार्यक्रममा प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ।
पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको र यसलाई निरन्तरता दिइने जनाइएको छ। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु उपलब्ध गराइनेछ।
भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन सुरु गरिएको र चौधरी फाउन्डेसन तथा नबिल बैंकका कर्मचारी स्थानीयस्तरमै परिचालित भएको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरी प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराइएको छ। यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ।
शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक सुविधासमेत उपलब्ध गराइएको बताइएको छ।
बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिने भएको छ। स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित तथा सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्य राखिएको छ।
दीर्घकालीन योजनाअन्तर्गत संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिने चौधरी फाउन्डेसनले जनाएको छ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित परिवारको जीवन रक्षा गर्नुका साथै उनीहरूलाई खाना, आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको बताएका छन्।
उनले भने, “हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ।”
दुवै संस्थाका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरेर काम गर्ने बताएका छन्।
अभियानमार्फत सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्याउने उद्देश्य राखिएको जनाइएको छ।
राष्ट्रिय संकटका समयमा प्रभावित समुदायको साथमा उभिने तथा उनीहरूलाई सुरक्षित, स्वस्थ र विपद्–प्रतिरोधी भविष्य निर्माणमा सहयोग गर्ने प्रतिबद्धताअनुसार कार्यक्रम अघि बढाइएको दुवै संस्थाले बताएका छन्।










