बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अस्तव्यस्त, मर्मत र उद्धार जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरुका कारण प्रमुख राजमार्ग तथा सहायक सडक मार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले २०८३ भाद्र १३ गते बिहान ०६:३० बजेसम्म अद्यावधिक गरेको विवरण अनुसार मेशिन र सुरक्षाकर्मी परिचालन गरी केही स्थानमा सडक सञ्चालनमा ल्याइए पनि मुख्य राजमार्गहरू अझै पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन्।

काठमाडौं उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गा-मुग्लिन सडक खण्ड पूर्ण रूपमा सुचारु भइसकेको भए पनि धादिङको बैरेनी बजार क्षेत्रमा १ किलोमिटर सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्याङखोला, गजुरी गाउँपालिकाका बिहानीपम्प, गलौँदी, जहरे खेत र बाङ्गे मोड तथा गल्छी गाउँपालिकाको बैरेनिमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।

यसैगरी, नुवाकोट जिल्लाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने प्रहरीले जनाएको छ। टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढी आउँदा त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड लामो समयका लागि अवरुद्ध बनेको छ।

बागमती प्रदेशका अन्य प्रमुख सडकहरूमा काभ्रेस्थित बि.पि. राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थिति हेरेर मात्र गाडी खुलाउने गरिएको छ। मकवानपुरको कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

पूर्वी नेपालतर्फ ईलामको राजदुवालीस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा हाल वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यता लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका-४ खरिबोटमा पहिरो जाँदा शहिद राजमार्ग पूर्ण रूपमा ठप्प छ। त्यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने कार्य निरन्तर जारी रहे पनि वर्षा थम नसकेकाले यात्रुहरूलाई सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्