काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने केरुङ नाकामा हिमपहिरो र लेदोसहितको बाढीले पुर्याएको क्षतिको पछिल्लो अवस्थाबारे चीनको प्राकृतिक स्रोत मन्त्रालयले थ्री–डी तस्बिर सार्वजनिक गर्दै विस्तृत विवरण दिएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सार्वजनिक गरिएका तस्बिरले विपद्को स्रोत, त्यसले तय गरेको मार्ग तथा पुर्याएको क्षतिको स्पष्ट चित्र प्रस्तुत गरेका छन्। विपद्अघि र पछिका तस्बिर तुलना गर्दा केरुङ नाका आसपासका क्षेत्रमा ठूलो क्षति भएको देखिन्छ। पहिलेका तस्बिरमा देखिएका घर, सडक तथा पुल अहिले पहिरोका कारण चिन्नै नसकिने अवस्थामा पुगेका छन्।
चीनको ‘एयरो जियोफिजिकल सर्भे एण्ड रिमोट सेन्सिङ सेन्टर’का वरिष्ठ इन्जिनियर प्रो. गुओ झाओचेङका अनुसार हिमपहिरोसँगै बगेको लेदो दोङलिन साङ्पो नदी हुँदै केरुङ नाका पुगेको थियो।
पहिरोको सुरुवात कहाँबाट भयो?
विज्ञहरूका अनुसार विपद्को सुरुवात चिनियाँ भूभागबाट नभई नेपालतर्फबाट भएको देखिएको छ।
प्रो. गुओका अनुसार नेपालको चोकियान नदीको माथिल्लो तटीय क्षेत्रमा करिब ५ हजार १४० मिटरको उचाइमा रहेको हिमनदी भत्किएपछि विपद् सुरु भएको हो। हिउँ र चट्टानका टुक्रा तीव्र गतिमा तल झर्ने क्रममा बाटोमा रहेका खुकुला माटो तथा ढुंगा पनि सोहोर्दै विशाल लेदोको रूप लिएको उनले बताए।
यो बहाव नेपाल–चीन सीमास्थित गुओबासियाकु नदी हुँदै दोङलिन साङ्पो नदीमा मिसिएको थियो। अन्ततः ठूलो पहिरोको रूप लिँदै केरुङ नाकामा प्रहार गरेको र त्यसपछि नेपालको तल्लो तटीय क्षेत्रतर्फ अघि बढेको बताइएको छ।
विज्ञहरूले यस घटनालाई उच्च स्थानमा हिमपहिरोबाट सुरु भई लेदो बहाव हुँदै विशाल पहिरोमा परिणत भएको शृंखलाबद्ध विपद्का रूपमा व्याख्या गरेका छन्।
७ मिनेटमै २० किलोमिटर दूरी
पहिरो विनाशकारी हुनुको मुख्य कारण यसको उद्गमस्थल र केरुङ नाकाबीचको ठूलो उचाइ अन्तर रहेको बताइएको छ।
नेपालतर्फको उद्गमस्थल ५ हजार १४० मिटर उचाइमा छ भने केरुङ नाका करिब १ हजार ८ सय मिटरको उचाइमा छ। करिब २० किलोमिटरको दूरीमा ३ हजार ३ सय मिटरको उचाइ घटेकाले पहिरोको गति अत्यन्त तीव्र भएको देखिन्छ।
तथ्याङ्कअनुसार बुधबार बिहान १०ः५२ बजे (चिनियाँ समय) हिमनदी भत्किएको थियो भने १०ः५९ बजे नै पहिरो केरुङ नाका पुगेको थियो। अर्थात् करिब २० किलोमिटर दूरी पहिरोले सात मिनेटमै पार गरेको थियो।
यसको औसत गति प्रतिसेकेन्ड करिब ५० मिटर रहेको बताइएको छ। तीव्र गतिका कारण प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान पर्याप्त समयसमेत नपाएको जनाइएको छ।
थ्री–डी तस्बिरको विश्लेषणले मुख्य नदीमा ठोक्किएपछि पहिरोको केही भाग नदीको बहावको विपरीत दिशातर्फ पनि बगेको देखाएको छ। उक्त लेदो करिब तीन किलोमिटर माथिल्लो तटीय क्षेत्रतर्फ बगेको बताइएको छ।
उद्धारमा किन कठिनाइ?
कठिन भौगोलिक बनावट, सडक सञ्जालमा भएको क्षति तथा ठूलो मात्रामा थुप्रिएको लेदोका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
चीनको राष्ट्रिय राजमार्गसमेत क्षतिग्रस्त भएको छ। केरुङमुनिको उपत्यकाका ग्रामीण सडक पूर्ण रूपमा बगाएकाले पैदल आवतजावत गर्ने बाटोसमेत नरहेको बताइएको छ।
साँघुरो र भिरालो भू–बनावटका कारण उद्धार टोली तथा उपकरण परिचालन गर्न पर्याप्त ठाउँसमेत छैन। कतिपय घर तथा संरचना बगाएर निकै तल पुर्याएकाले ती कहाँ पुगे भन्ने यकिन गर्न कठिन भएको समाचारमा जनाइएको छ।
हाल ड्रोन, विशेष सेन्सिङ उपकरण तथा भौगर्भिक विज्ञहरूको टोली परिचालन गरी खोज तथा उद्धारका साथै थप जोखिमको अध्ययन भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।












