काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको झडपबारे छानबिन गर्न गठित दुई समितिले छानबिन पूरा गरी प्रतिवेदन बुझाएका छन् । दुवै घटनामा मृत्यु भएका चारै जनाको ज्यान सुरक्षाकर्मीको गोली लागेर भएको समितिको निष्कर्ष छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको विवादपछि भएको झडपमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको छानबिनबाट खुलेको छ । घटनास्थलमा कुल २० राउण्ड गोली चलेको पाइएको छ ।
त्यस्तै, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । छानबिन समितिका अनुसार यादवको मृत्यु पनि प्रहरीले चलाएको गोली लागेर भएको हो । गोलबजारमा सशस्त्र प्रहरीले गोली नचलाएको र प्रहरी इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको समितिको निष्कर्ष छ ।
छानबिन समितिले घटनामा लापरवाही गर्ने तथा सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्नसमेत सिफारिस गरेको छ । घटनामा संलग्न सुरक्षाकर्मीको भूमिकाबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दुवै घटनामा प्रदर्शनकारी वा अन्य बाहिरी समूहबाट गोली चलेको पुष्टि नभएको समितिले जनाएको छ । लहानमा प्रदर्शनका क्रममा प्रहरी कर्मचारीलाई गोली लागेको भनिएको घटनामा समेत गोली नलागेको निष्कर्ष छानबिन समितिले निकालेको छ ।
समितिले घटनाको सामाजिक, धार्मिक तथा सुरक्षा पक्षको विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसमेत सरकारलाई सुझाएको छ ।










