धम्काउने र मलम लगाउने अभिनय स्वीकार्य छैन : सांसद सिद्धिकी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन्। सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै खातुनले त्यसको प्रतिवाद गरेकी छन्। मुलुकमा व्याप्त गुण्डाराज सरकारकै संरक्षणमा भइरहेको दाबी गर्दै प्रतिपक्षले आवाज उठाउँदा गुण्डाको संज्ञा दिनु शोभनीय नभएको उनले बताइन्। एमाले सांसद खातुनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने प्रतिबद्धता व्यक्त गरिन्।

‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन,’ खातुनले भनिन्, ‘हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ।’

आफ्नो सम्बोधनका क्रममा उनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयलाई लिएर सरकारको जवाफदेहितासमेत माग गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्