सरकारका ५ ठूला निर्णय : चार जनालाई शहीद घोषणा, एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।

सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्नसमेत सहमति दिने निर्णय गरेको छ।

यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्का पाँच निर्णय संक्षेपमा :

  • विद्युत्बाट चल्ने एम्बुलेन्स र शव वाहनमा पूर्वाधार शुल्क र भ्याट पूर्ण छुट।
  • सुनसरी र सिराहाका प्रदर्शनमा मृत्यु भएका ४ जनालाई शहीद घोषणा।
  • पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति।
  • निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्ति।
  • एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्