काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेमतो गरेको आरोप लगाएका छन्।
कांग्रेसको सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापाले रास्वपाको सहयोगमा चुनाव जितेको दाबी गरे।
“नौटंकी गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो,” उनले भने। चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयं रहेको दाबी गर्दै उनले त्यसबारे कसैले अस्वीकार गर्न नसक्ने बताए।
बस्नेतले कांग्रेसभित्र अहिले पनि छलछामको राजनीति भइरहेको आरोप लगाए। उनले आफूहरू कांग्रेसलाई “धोई पखाली” गरेर इमानदार र सक्षम पार्टी बनाउने अभियानमा रहेको बताए।
उनका अनुसार कांग्रेस केही दिनका लागि चटक देखाउने पार्टी नभई मुलुक, जनता र लोकतन्त्रका लागि निरन्तर संघर्ष गर्ने राजनीतिक शक्ति बन्नुपर्छ।
“मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ। यो बकवास गरेर दुई–चार दिनको लागि चटक देखाउने कांग्रेस होइन। मुलुक, जनता र प्रजातन्त्रका लागि सधैँ लड्ने कांग्रेस हो,” बस्नेतले भने।











