ग्यास अभावबारे उद्योग संघको स्पष्टीकरण, ‘१०–१५ दिनमै सहज हुन्छ’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले १०–१५ दिनभित्र ग्यास आपूर्ति सहज हुने बताएका छन्। सरकारले लामो समयसम्म ७.१ केजीका सिलिन्डरको बिक्री–वितरण जारी राख्दा अहिलेको समस्या उत्पन्न भएको उनको दाबी छ।

मंगलबार उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष चन्दले भने, ‘ग्यास ल्याउने बुलेट हाम्रो नियन्त्रणमा छैन। उपभोक्ताले पनि ग्यास सिलिन्डर स्टक गरेर राख्दा समस्या थपिएको हो। सामान्य अवस्थामा ८० देखि ९० वटा बुलेट आवश्यक पर्छ, तर अहिले १२० वटासम्म बुलेटमार्फत ग्यास आयात भइरहेको छ। सरकारले १४.२ केजीका सिलिन्डरको बिक्री–वितरण सुरु गरेयता ३२ हजार मेट्रिक टन ग्यास खपत भइसकेको छ।’

उनले ७.१ केजीका सिलिन्डरको बिक्री–वितरण १५ दिनका लागि मात्रै गर्न पटक–पटक आग्रह गरिएको भए पनि लामो समयसम्म जारी राखिएकाले अहिले समस्या देखिएको बताए।

‘भारतीय आयल निगमबाट प्राप्त हुने ग्यासको परिमाण सीमित छ। अन्य स्रोतबाट ल्याउन आवश्यक नेपाली बुलेट पनि छैन। त्यसैले अहिलेको समस्या भएको हो। बढीभन्दा बढी ग्यास ल्याउने व्यवस्था मिलाउन सके मात्रै आपूर्ति सहज हुन्छ। विगतमा मासिक २८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको थियो। अहिले देखिएको असहजता दिनप्रतिदिन घट्दै जानेछ र १०–१५ दिनभित्र अवस्था सामान्य हुन्छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्