विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद संकटमा परेको छ। अध्यक्ष ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले त्यसलाई अस्वीकार गरेका छन्।
स्रोतका अनुसार, कार्कीले निर्देशन नमानेपछि अध्यक्ष ओलीले पार्टी सचिव शेरधन राईलाई विराटनगर पठाएका छन्। तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने जिम्मेवारीसहित आएका राईसँग पनि कार्कीले पार्टीको विधि र प्रक्रियाअनुसार निर्णय आए मात्र पद छाड्ने जवाफ दिएका छन्।
‘पार्टी कमिटीले छोड भन्नुपर्छ। निर्णय प्रक्रियाबाट आए म पद छाड्छु, नत्र छाड्दिनँ,’ कार्कीले बताएका छन्।
सोमबार बसेको एमाले संसदीय दल र प्रदेश कमिटीको संयुक्त बैठकमा पनि उनले आफ्नो सरकार नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएकाले सहज रूपमा नढल्ने दाबी गरे।
‘म संसदीय दलको नेता भएकै कारण मुख्यमन्त्री बनेको होइन,’ बैठकमा उनले भने, ‘दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत पाएर सरकार बनेको हो। यो उपधारा (५) अन्तर्गतको सरकार भएकाले आफ्नै संवैधानिक प्रक्रियाअनुसार अघि बढ्छ।’
कार्कीको अडानसँगै कोशी प्रदेश एमालेभित्र नेतृत्व परिवर्तनको विवाद थप चर्किएको छ।










