२१ असार, काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्कुलमै कार्यरत इन्स्पेक्र तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् । उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । ‘दुई जनालाई हिजो पक्राउ गरेका हौं । आज म्याद थप गरेर अनुसन्धान अघि बढाउँछौं’, एसपी भट्टराईले भने ।
सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
स्कुलको ठूलो रकम हिनामिना गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।
यसको मुख्य योजनाकार नै लेखा प्रमुख गुरुङ रहेको बताइएको छ । यसबारे सुरुमा सशस्त्र हेडक्वाटरले छानबिन गरेको थियो । छानबिनको क्रममा उनीहरु दोषी देखिएपछि प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो ।
मुख्य योजनाकार भनिएकी गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रुपमा काम गरिरहेकी छिन् । यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन् ।










