हर्कलाई रमेश प्रसाईँको जवाफी प्रहार- मेरा महादेव र तपाईँका यशु संसारमा छैनन् ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले आफ्नो दृष्टिविहीनतालाई लिएर कटाक्ष गर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङके कडा प्रतिवाद गरेका छन्। हर्कले प्रसाईँलाई ‘विषय केन्द्रित तर्क गर्ने दम नभएर सुनेको भरमा बोल्ने गरेको’ टिप्पणी गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

प्रसाईँले आफूले पढ्ने पुस्तक नहुँदा सुनेरै कलेज टप गरेको स्मरण गराउँदै देखेको कुरा मात्र सत्य नहुने बताएका छन् । उनले भनेका छन्, ‘तपाईंले देखेको जति मात्र सत्य हो भने, के तपाईंले नदेखेका देश संसारमा छैनन् ? हावा छैन ? मेरो महादेव र तपाईंको यशु छैनन् ?’

आफूलाई सहानुभूति भन्दा पनि समान भावले हेर्न आग्रह गर्दै प्रसाईँले विपक्षी सांसदलाई भन्दा लाखौँ गुणा अप्ठ्यारो जीवन बाँचेर पनि आफू उनीसँगै संसदमा उभिन सफल भएको उल्लेख गरेका छन् ।

सांसद प्रसाईले आफ्नो शारीरिक अवस्था (दृष्टिविहीनता) का बारेमा फेसबुकमा लेख्नुलाई ‘काँतर काम’ को संज्ञा दिँदै जीवन र जगतका जुनसुकै विषयमा प्रत्यक्ष बहस गर्न चुनौती दिएका छन्।

‘मेरो क्षमतामा कसैलाई शंका छ भने काँतर भएर फेसबुकमा शरीरबारे लेख्ने होइन, जीवन र जगतको कुनै पनि विषयमा फेस टु फेसु बहस गरौँ,’ उनले लेखेका छन्।

उनले अरूलाई नङ्ग्याउन खोज्दा माननीयको आफ्नै ‘चीरहरण’ भइरहेको भन्दै व्यङ्ग्य समेत गरेका छन् । प्रसाईँले आफ्नो स्टाटसमा ‘विचार चोगे आदङ्बे’ भन्दै साम्पाङको नामतर्फ संकेत गरेका छन्।

उनले आफ्नो अडान स्पष्ट पार्दै लेखेका छन्, ‘म प्रतिको सहानुभूति होइन, आफू समान भाव राख्नुहोस् ।’

उनले आफ्नो स्टाटसको अन्त्यमा ‘जय माटो, जय घण्टी’ उल्लेख गरेका छन् । आफ्नो पोस्टमा उनले साम्पाङसँग अंकमाल गरेको एआई तस्वीरसमेत राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्