परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज नेपालीसँग अन्तर्क्रिया

खबर बुक
  • ख-
  • ख+

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन पुग्दैछन् ।

गएराति बेइजिङका लागि प्रस्थान गरेका उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ ।

चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चारदिने चीन भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् ।

सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन् ।

त्यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन् । कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।

खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्