०३ जेठ, काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापा सहभागी एक कार्यक्रममा हुलहुज्जत भएको छ । राजावादी कार्यकर्ताले आफूमाथि गालीगलौज र नाराबाजी गरेपछि उनी आक्रोशित हुँदै बाहिरिए ।
थापा ललितपुरस्थित हिमालय होटलमा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । पृथ्वी पथ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम शान्तिपूर्ण रहेको थियो । कार्यक्रममा थापाले अंग्रेजी र नेपालीमा मन्तव्य दिए । मन्तव्य सकिएपश्चात् भने दर्शक दीर्घामा रहेका केही युवाहरू उनीविरुद्ध खनिन थाले ।
जेनजी युवा सुरेन्द्रजंग थापाले प्रश्न सोध्ने भन्दै माइक समातेर थापामाथि विभिन्न आरोपहरू लगाए । थापाले जवाफ दिन नपाइ नाराबाजी सुरु भयो । राजाको पक्षमा र कमल थापाको विरुद्धमा नाराबाजी भयो । त्यसपछि थापा मञ्चबाट झरेका थिए ।
थापाले सुरेन्द्रजंग लगायतका युवाहरूलाई सम्झाउने कोसिस गरे । यही क्रममा क्यामरा बोकेका एक युवकले उनलाई दुर्व्यवहार गरेको थापा पक्षको आरोप छ । अनिष त्रिपाठी नामका युवकले थापाको मुखैमा क्यामरा घुमाएर भिडिओ खिचिरहेका थिए । आक्रोशमा आएर थापाले उनको घाँटी समाउन पुगे । अप्रिय अवस्था सिर्जना हुन सक्ने देखेपछि अन्य व्यक्तिहरूले थापालाई त्यहाँबाट बाहिर लिएर हिँडे ।
ती युवकले कार्यक्रमपछि कमल थापाले आफ्नो घाँटी न्याकेको बताए । आफू पत्रकार नभएको र भिडिओमात्रै खिचेको उनको भनाइ थियो ।
कमल थापामाथि मुख छोड्दै उनले भने, ‘विचार गर म्या…, अहिले मेरो सरकार छ । डन बनेको होलास् । विचार गर, मुख फुटाइदिन्छु । के सोच्या छस् ?’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कमल थापामाथि दुर्व्यवहार भएको भन्दै दुख प्रकट गरेका छन् । प्रश्न गर्ने नाममा देखाइएको अभद्रता र जग हँसाउने कार्य खेदजनक रहेको उनको टिप्पणी छ ।
उनले लेखेका छन्, ‘प्रतिकुल अवस्थामा समेत राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डाका लागि धेरैको मिहिनेत र योगदान छ, हामी सबैको योगदान छ तर कमल थापाको अलिक बढी छ। यो कुरा बिर्सनेहरू नक्कली हुन्।’











