२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले डिजिटलाइजेसनको कुरा गरे पनि गाउँघरका गरिब, किसान र मजदुरसम्म प्रविधिको पहुँच विस्तार गर्न आवश्यक नीति नल्याएको बताएका छन्।
नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा डिजिटल प्रविधिको व्यापक चर्चा भए पनि मोबाइल पहुँच र गुणस्तरका विषयलाई बेवास्ता गरिएको टिप्पणी गरे।
संघीय संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि जनाए।
उनले भने,’सरकारको तर्फबाट नीति तथा कार्यक्रममा छलफल र बहस र जवाफ दिँदै गर्दाखेरि मैले पनि हेरिराखेको थिएँ ६ घण्टामा जति भ्याइयो पढिएको थियो, यहाँनिर डिजिटलाइजेसनको कुरा साह्रै धेरै गरिएको छ । डिजिटल अहिलेको युग हो । यो भन्दा पर कोही जानै सक्दैन ।’
डिजिटल सेवा, विशेषगरी नागरिक एपजस्ता प्रणाली प्रभावकारी बनाउन गुणस्तरीय मोबाइल आवश्यक पर्ने बताए। उनले सरकारले ल्याउने आगामी बजेटमा मोबाइल तथा डिजिटल पहुँच विस्तारका विषय समेटिनुपर्नेमा जोड दिए।
अहिलेको विपक्षी दल विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको बताए।
उनले भने, ‘हामी परिणामका लागि साथ दिन तयार छौँ। राज्यले सकारात्मक ढङ्गले काम गरे कानुन निर्माणदेखि अन्य विषयमा पनि हाम्रो सहयोग रहन्छ। यो दुई तिहाइको सरकारले गरिब, किसान र मजदुरको पहुँचमा पुर्याउने भन्ने कुराको अन्दाज गर्न सक्दैन भने यो त दुर्भाग्य मात्रै हो। यो त दुर्भाग्य मात्रै हो। म राज्यको नियतमाथि शङ्का गर्दिनँ। तर यसलाई सच्याउने दिशामा राज्यले आफूलाई पोजिटिभली फ्रन्टमा राखोस्।’











