२४ वैशाख, काठमाडौं । अमेरिकामा जेल भित्रै आत्महत्या गरेका जेफ्री एपस्टिनको भनिएको सुसाइड नोट सार्वजनिक भएको छ।
बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगिरहेको अवस्थामा एपस्टिनले सन् २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए।
अमेरिकी अदालतले बुधबार एपस्टिनले आत्महत्या गर्दाको सुसाइड नोट भनेर हस्तलिखित पत्र सार्वजनिक गरेको हो।
यो नोट सन् २०१९ देखि गोप्य रूपमा अदालतको अभिलेखमा राखिएको थियो। त्यतिबेला जेलमा एपस्टिनसँगै बसेका निकोलस टार्टागलियोनसँग आपराधिक मुद्दाको फाइलमा लुकाइएको अवस्थामा थियो।
अमेरिकी अखबार न्युयोर्क टाइम्सले निवेदन दिएपछि न्युयोर्कको संघीय अदालतका न्यायाधीश केनेथ करासले बुधबार उक्त दस्तावेज गोप्य सूचीबाट हटाएर सार्वजनिक गर्न आदेश दिएका हुन्।
यद्यपि उक्त नोटमा हस्ताक्षर नभएको र आधिकारिक रूपमा प्रमाणीकरण नगरिएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
सुसाइड नोटमा सुरूको ठूलो अक्षरमा दे इन्भेस्टिगेटेड मि फर मन्थ−फाउन्ड नथिङ अर्थात् उनीहरूले मलाई एक महिनासम्म जाँच गरे— केही पनि भेटेनन् भनेर लेखिएको छ।
केही नभेटिएपछि वर्षौंअघिका आरोप फेरि निकालियो भन्ने भावको वाक्य उल्लेख गरिएको छ। अर्को पंक्तिमा ‘आफ्नो विदाइको समय आफै छान्न पाउनु एउटा अवसर हो’ उल्लेख छ।
नोटमा ‘तिमीहरू मबाट के चाहन्छौ— म रोएको देख्न?’ भन्ने व्यंग्यात्मक शैलीको वाक्य पनि छ। अन्तिममा ‘नो फन’ र ‘नो वर्थ इट्’ लेखिएको छ, जसमा ‘नो फन’ शब्दलाई हाइलाइट गरिएको छ।
एपस्टिनसँगै जेलमा बसेका टार्टाग्लियोनेले सन् २०१९ जुलाईमा उक्त नोट फेला पारेको बताएका छन्।
त्यो समय एपस्टिन जेलको कोठामा घाँटीमा कपडाको टुक्रा बेरिएको अवस्थामा अचेत भेटिएका थिए। त्यस घटनामा उनी बाँचेका थिए, तर केही सातापछि न्यूयोर्कको अहिले बन्द भइसकेको मेट्रोपोलिटन करेक्सनल सेन्टरमा ६६ वर्षको उमेरमा मृत फेला परेका थिए।
टार्टाग्लियोनेले न्युयोर्क टाइम्ससँग जेलबाट गरेको फोन अन्तर्वार्तामा आफूले नोट एउटा ग्राफिक उपन्यासभित्र फेला पारेको बताएका छन्।
‘मैले किताब खोलेर पढ्न थालेँ, अनि त्यहीँ नोट भेटियो,’ उनले भनेका छन्। उनका अनुसार एपस्टिनलाई कोठाबाट बाहिर लगिएपछि उनले किताबभित्र उक्त नोट भेटेका थिए।
अमेरिकी न्याय विभागले हालै नयाँ कानुनअनुसार एपस्टिनसँग सम्बन्धित लाखौं पृष्ठ दस्तावेज सार्वजनिक गरेको थियो। तर ती अभिलेखमा यो सुसाइड नोट भने समावेश थिएन।
टाइम्सले ती फाइलहरू खोज्दा नोट नभेटिएको जनाएको छ। न्याय विभागकी एक प्रवक्ताले पनि एजेन्सीले यो नोट कहिल्यै नदेखेको भनेकी छन्।
तर टाइम्सले भेट्टाएको दुई पृष्ठ लामो अर्को गोप्य समयरेखा दस्तावेजमा टार्टाग्लियोनेका वकिलहरूले नोट प्रमाणीकरण गरेको उल्लेख थियो। यद्यपि त्यो कसरी प्रमाणित गरियो भन्ने स्पष्ट गरिएको थिएन।
अदालतका कागजातअनुसार टार्टाग्लियोनेका वकिलहरूसँग नोटको फोटो मोबाइलमा थियो। सन् २०२१ मेमा, अर्थात् एपस्टिनको मृत्युपछि झन्डै दुई वर्षपछि, नोटको मूल प्रति अदालतलाई बुझाइएको थियो।
किन गोप्य राखिएको थियो?
न्युयोर्क टाइम्सका अनुसार नोट टार्टाग्लियोनेका वकिलहरूबीच लामो कानुनी विवादको हिस्सा बनेको थियो। वकिल–मुवक्किल गोपनीयता जोगाउन अदालतले ती कागजात गोप्य राखेको थियो।
नोट सार्वजनिक गर्नुअघि न्यायाधीश करासले सम्बन्धित पक्षहरूसँग राय मागेका थिए। टार्टाग्लियोनेविरुद्ध मुद्दा चलाएको म्यानहटनस्थित अमेरिकी सरकारी वकिल कार्यालयले नोट सार्वजनिक गर्न आफूहरूको कुनै आपत्ति नभएको जनाएको थियो।
सरकारी वकिलहरूले अदालतलाई लेखेको पत्रमा भनिएको छ, ‘गोप्य राख्नु टार्टाग्लियोनेको फाइदाका लागि थियो। तर यसको विपरीत एपस्टिनको मृत्यु कसरी भयो भन्ने विषयमा ठूलो सार्वजनिक चासो छ।’
टार्टाग्लियोनेकी अपिलसम्बन्धी वकिल इन्गा पार्सन्सले पनि नोट सार्वजनिक गर्न हामीलाई कुनै आपत्ति थिएन भनेकी छन्।
एपस्टिनको ५०औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई पत्र लेखेको समाचार ‘वाल स्ट्रिट जर्नल’ अघिल्लो वर्ष छापेपछि यो विषय सनसनी बनेको थियो।
एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि ‘कलिला किशोरीहरू व्यवस्था गर्ने’ भनेर केही दशक अघिदेखि चर्चा हुँदै आएको थियो।
उनीहरूले न्यूयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे। एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो। उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्थे।
यस्तो धन्दा चलाउँदा पनि शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण एपस्टिनमाथि कुनै छानबिन भएको थिएन।
सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सहुलियत पाएका थिए।
उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको मानिन्छ।
एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए। एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू (हालका राजा चार्ल्सका भाइ) ले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ पछि उनको राजकुमार पद पनि खोसियो। उनले ती महिलालाई करोडौं डलर दिएर अदालत बाहिरै मुद्दा मिलाएका थिए। ती महिलाले गत अप्रिलमा आत्महत्या गरिन्।
उता किशोरीहरूको सार्वजनिक बयानपछि एपस्टिनलाई ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा फेरि पक्राउ गरियो। उनले २०१९ मै जेलभित्र आत्महत्या गरे। उनकी प्रेमिका म्याक्सवेल भने अहिले पनि जेलमै छिन्।
कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका थिए। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे — डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन्!
एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो। त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे।
उनीहरूले यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण थियो।
सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेको फ्लाइट लगले देखाएको छ।
जेफ्री एप्स्टिनको फाइलमा अमेरिकी राजनीतिज्ञ, उद्योगपति, कूटनीतिज्ञ, शिक्षाविद्, राजपरिवारका सदस्य र चर्चित व्यवसायीहरूको नाम उल्लेख छ। केही व्यक्तिले त्यसपछि पद गुमाएका पनि छन्। केहीले राजीनामा दिएका छन् भने केहीमाथि अनुसन्धान सामना गरेका छन्।
बेलायती राजा चार्ल्सका भाइ एन्ड्र्यू माउन्टब्याटन विन्सडरको राजकुमार उपाधि खोसिएको थियो।
बेलायतका लागि अमेरिकी राजदूत पिटर म्यान्डेल्सनलाई बर्खास्त गरिएको थियो भने। पछि उनले लेबर पार्टी र हाउस अफ लर्ड्सबाट पनि राजीनामा दिएका थिए। एपस्टिनलाई उनले मेरो सबैभन्दा नजिकको साथी भनेर इमेल लेखेको विवरण सार्वजनिक भएको थियो।
गोल्डम्यान साक्सको प्रमुख कानुनी अधिकृत क्याथ्रिन रूम्लरले पनि एपस्टिन फाइलमा आफ्नो नाम आएपछि राजीनामा दिएका थिए। उनले एपस्टिनलाई अंकल जेफ्री भनेर इमेल गरेको सार्वजनिक भएको थियो।
अमेरिकी पूर्वराष्ट्रपति बिल क्रिन्टन अमेरिकी कांग्रेसमा बयान दिन बाध्य भए। फाइलमा उनको नाम र फोटो धेरैपटक आएको थियो।











