१० वैशाख, काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबार बिहानदेखि काठमाडौँ उपत्यकाका तीन स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकपछि थापाथली, गैह्रिगाउँ र जडीबुटीस्थित मनहरा खोला किनारका बस्तीलाई पहिलो चरणमा खाली गराइने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार वैशाख ११ गते साँझ ७ बजेसम्म सम्बन्धित बस्ती खाली गर्न सूचना जारी गरिएको छ। त्यसपछि वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर प्रयोग गरी टहरा तथा अवैध संरचना भत्काइनेछ।
सुरक्षा समितिले काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै स्थान खाली गराउने तयारी गरेको छ। प्रशासनले सामान, चौपाया तथा परिवारका सदस्यहरू सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। विशेषगरी अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन अनुरोध गरिएको छ।
प्रशासनले माइकिङमार्फत सूचना जारी गर्दै अवरोध गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षा व्यवस्था कडा बनाइनेछ भने अन्य व्यवस्थापकीय काम सम्बन्धित निकायले गर्नेछन्।
साथै, आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था गर्ने तयारीबारे पनि छलफल भइरहेको बताइएको छ।











