बैतडीमा एक युवतीको विभत्स हत्या, एक बालिका घाइते

खबर बुक
  • ख-
  • ख+

बैतडी १५ मंसिर । बैतडीमा एक युवतीको धारिलो हतियारले घाँटी रेटेर विभत्स तरीकाले हत्या गरेको अवस्थामा शव फेला परेको छ । साथै अर्की एक बालिका घाइते अवस्थामा फेला परेकी छिन् ।

पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनको शव शिवनाथ गाउँपालिका-६ को शिवनाथ मन्दिर नजिकै जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, पञ्चेश्वर-४ कै भरत लुहारकी १५ वर्षीया छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका  र पञ्चेश्वर गाउँपालिकाको सीमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी हुन् ।

घाइते नेहालाई उपचारको लागि धनगढी रेफर गरिएको छ । उनको पनि घाँटीको रुद्रघण्टीमाथिको भाग धारिलो हतियार प्रयोग गरि काटिएको हुनाले बोल्न सक्ने स्थितिमा नरहेको बताइएको छ । उनलाई उपचारको लागि धनगढी लगिएको छ ।

माया र नेहा मंगलबार लुगा सिउन भनी घरबाट गएका र राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्