ओखलढुंगामा विद्युत् सर्ट हुँदा दुई घर जलेर नष्ट, २६ लाखको क्षति

खबर बुक
  • ख-
  • ख+

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत्को तार सर्ट हुँदा आगलागी भएर दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगो फैलिएपछि उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घरमा रहेको अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगदसमेत जलेर नष्ट भएको छ। उनको घरमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट दुवै घरमा गरी करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्